काठमाडौँ- नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिनँ भन्नेलाई पक्राउ गरिने चेतावनी दिएका छन्।
बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुराकानीमा अर्थमन्त्री पुनले आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईँप्रति लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्।
जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिनँ भन्ने र तिर्नुहुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने उनको भनाइ छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ऋण नतिर्न भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी पनि मन्त्री पुनले दिए।
भेटमा नेपाल बैंकर्स संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीलगायतले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए।


