धनगढी- सोमबार साँझ कर्णाली पुलमा आगो लाग्दा क्षति भएको कैलालीको चिसापानीस्थित कर्णाली पुल अझै तीन दिन सञ्चालनमा नआउने भएको छ।
पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीका अनुसार आगालागीबाट पुलका दायाबाँयातर्फका ७/७ वटा लठ्ठा जलेका छन्।
ती लठ्ठाको मर्मतको कामका लागि पुल बन्द गर्नुपर्ने देखिएको उनको भनाइ छ।
यद्यपि यो विषयमा अध्ययन भइरहेकाले तीन दिन बन्द गर्ने आधिकारिक निर्णय भने हुन बाँकी छ।
अधिकारीका अनुसार पुलमा गाडी सञ्चालन गर्न मिल्ने कि नमिल्ने भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको छ।
पुलमा आगो लागेपछि अहिले सुदूरपश्चिम प्रवेश गर्ने र बाहिरिने गाडीहरु हुलाकी राजमार्ग हुँदै चलिरहेका छन्।
सोमबार दिउँसो वीरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रक पुलमाथि रहेका बेला एक्कासी आगलागी भएको थियो ।
ट्रकमा लागेको आगो पुलका लठ्ठाहरुमा समेत सल्किएको थियो।


