धुलिखेल- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् । एकीकृत समाजवादीको काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापना कार्यक्रममा बोल्दै उनले स्वच्छ छवि भएर भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको बताए ।
नेपालको कम्युनिष्ट पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै नेपालले परिस्थिति अनुकूल र सबैमा त्यही ढंगको सोच र विकास हुन आवश्यक रहेको बताए ।
सोमबार बिहानमात्रै एमाले अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) बाट आफूबीच भेट भएर आपसी सम्बन्धबारे छलफल भएको र त्यसले उपनिर्वाचनको विषयमा समेत छलफल गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा सल्लाह भएको उनले बताए ।
पार्टीका केन्द्रीय उपमहासचिव गंगालाल तुलाधरले जनताको घर–घरमा पुगेर पार्टीको बारेमा प्रचार गर्न र पार्टी निर्माणको काममा जुट्न निर्देशन दिए । त्यसका लागि जिल्लाका सबै पालिकामा सन्देश सभाको आयोजना गरेर अगाडि बढ्न निर्देशन दिए ।
पार्टीका बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुसालले निर्वाचित पदाधिकारी र सदस्यले आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूर्णरुपमा निर्वाह गर्दै पार्टी कमिटी मजबुद बनाउने अभियानमा लाग्न आग्रह गरे ।
पार्टीको १०औँ जिल्ला अधिवेशनबाट बसुन्धरा हुमागाईंको अध्यक्षतामा उपाध्यक्षद्वय रघुवर चौप्रधान र पासाङ डोल्मो लामा, सचिवमा गोकुल गौतम र उपसचिवमा हरिगोपाल प्रधानांग, कृष्णबहादुर तामाङ र भेषराज शाहलगायत भूगोल, खुला, अल्पसंख्यक, दलित र अपांगतातर्फ गरी ५७ सदस्यीय समिति निर्वाचित भएको थियो ।


