काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले एक वर्षको अवधिमा करिब ३ अर्ब ऋण भुक्तानी गरेको छ। जहाज खरिदका लागि लिएको ऋणको सावा र ब्याजमध्ये करिब ३ अर्ब रुपैयाँ पछिल्लो एक वर्षको अवधिमा भुक्तानी गरिएको निगमले जानकारी दिएको हो।
निगम प्रवक्ता रमेश पौडेलका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २ अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ भुक्तानी गरेको हो।
निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत लिएको ऋणको विसं २०७९ असार महिनादेखि चैत ३० गतेसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ।
निगमले २०७९ चैत्र महिनाको किस्ताबापत दुवै कोषलाई जम्मा रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ। सोही वर्षको असारमा १ अर्ब ३५ करोड, असोजमा ७३ करोड ९ लाख ५५ हजार, पुसमा ३३ करोड ९ लाख ५५ हजार र चैतमा ५३ करोड ९ लाख ५५ हजार गरी सम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिएको निगमले जनाएको छ।
महामारीका कारण निगमको व्यापार खुम्चिएपनि परिस्थिति सहज बनेपछि निगमको आम्दानीमा पनि सुधार आएकाले दुवै कोषलाई नियमितरुपमा किस्ता तिर्न सकिएको प्रवक्ता पौडेलले बताए।


