काठमाडौँ- इजराइल सरकारले प्यालेस्टाइनमा गरेको नरसंहार, मानवता विरुद्धको अपराध र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमाथि गरेको क्रूर दमनको विरोधमा नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
शुक्रबार टिचिङ अस्पतालबाट मार्च पास गर्दै उनीहरुले इजरायल दूतावास अगाडि प्रदर्शन गरेका छन्।
‘हामी नेपाली चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र अन्य विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै नेपाली तर्फबाट इजराइल सरकारले प्यालेस्टाइनका नागरिकमाथि देखाएको कुर बर्बरताको घोर भर्त्सना गर्दछौँ,’ उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्।
अक्टोबर ७ देखि गाजामा सुरु भएको इजरायली कारबाहीमा ६८५ स्वास्थ्यकर्मीको मृत्यु भएको छ। हजारौं घाइते भएको समाचार प्रकाशनमा आएका छन्।
पछिल्लो ५ महिनामा गाजामा ३१ हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन्। यी अधिकांश महिला र बालबालिका छन्।















