काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्।
बझाङ-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले यस्तो बताएका हुन्। बझाङ-१ (क) मा पनि एमालेले जित्ने दाबी गरे।
प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा अघिल्लो पटक सबै मिल्दा पनि एमालेले जितेको उनले बताए। अरुको घाँस र कुँडो खाएर राम्रै प्रतिस्पर्धा गरेको भन्दै उनले भने, ‘यस पटक इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन, हामी जित्छौँ। मलाई विश्वास छ, माओवादीलाई अन्तिममा हामीलाई समर्थन गर्छ। किनभने कांग्रेसलाई जिताउन मिल्दैन।’
‘बझाङमा हामी यो पटक १३ हजारबाट १६ हजारमा पुग्छौं,’ दुबै क्षेत्रमा एमालेले शानदार ढंगले जित्ने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘माओवादीले साथ दियो भने त्यसभन्दा माथि जान्छौँ। समाजवादीले साथ दियो भने त्यो भन्दा माथि जान्छौँ।’
कहिले नभएको असन्तुष्टि चुनावका बेला देखिने गरेको भन्दै उनले त्यसो नगर्न नेता कार्यकर्तालाई चेतावनी दिए । ‘विरोधीको आलोचना गर्न छुट, साथीभाइको आलोचना गर्न पाइन्न’ एक महिना एकअर्काको आलोचना नगर्न आग्रह गर्दै उनले भने, ‘केही असन्तुष्टि छ भने वैशाख २० गतेपछि।’
उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफूले छलफल गर्न लागेको बताएका छन्।
शनिबार रिपोर्टस क्लबको २६औं वार्षिकोत्सव कार्यक्रममा उनले देउवा र ओलीसँग शान्ति प्रक्रिया र संवैधानिक परिषदको विषयमा छलफल गर्ने बताए।
‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन एकातिर केपी ओली, अर्कोतिर शेरबहादुर देउवा राखेर सहमति बनाउनुस् भन्नुभयो। नभन्दै आज अहिले एकातिर शेरबहादुर जी र अर्कोतिर केपी ओलीजी बस्दैछौँ। हामी अहिलेको शान्ति प्रक्रियासँग सम्बन्धित पनि र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा पनि गम्भीर छलफल गर्दैछौं’, प्रचण्डले भनेका थिए।
आफूले सबै राजनीतिक दललाई राष्ट्रिय सहमति र सहकार्यमा ल्याउन लागेको उनको भनाइ छ। ‘हुन त नेपाली कांग्रेससँग नजिक हुँदा र कहिले नेकपा एमालेसँग नजिक हुँदा नेता साथीहरुलाई नमिठो लागेकै छ। हामीले सहमतिकै आधारमा काम गरिरहेका छौँ। राष्ट्रिय सहमतिको वातावरण बनाउने किसिमले नै हामीले पहल गरेका छौं’, प्रचण्डले भने।


