काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग भेट गरेको हो।
साम्पाङको टोलीले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र समेत बुझाएको थियो।
‘खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल्ड साइट र उद्योग लगायतका थुप्रै जनताका मागहरु राखियो प्रधानमन्त्रीज्युलाई,’ साम्पाङले फेसबुकमा लेखेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन नसक्ने निष्कर्ष निकाले पनि साम्पाङले भने लगातार विमानस्थल बनाउन दबाब दिँदै आएका छन्।
तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशनअनुसार गठित अध्ययन समितिको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको थियो।
धरानमा विमानस्थल माग्दै पर्यटन मन्त्रालयमा आइपुगेका साम्पाङलाई प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उतिबेलै हवाई नीति र दूरीबारे सम्झाएका थिए। धरानमा विमानस्थल बन्न सक्दैन भनेपछि साम्पाङसँग मन्त्रालयमै उनको भनाभनको अवस्था देखिएको थियो ।
साम्पाङलाई नचिढ्याउन मन्त्री किरातीले अध्ययन समितिको एकसरो निर्देशन दिएका थिए। तर उक्त समितिको निष्कर्ष आएसँगै मन्त्री किराँतीमाथि मेयर साम्पाङले प्रहार गरिरहेका छन्।


