काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले १ अर्ब रुपैयाँ खाएको आरोप लगाउने महानगरपालिकाकै कर्मचारीविरुद्ध मुद्दा चलाइएको छ।
ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेललाई साइबर अपराधमा मुद्दा चलाइएको हो।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब रुपैयाँ खाएको आरोप लगाएका थिए।
झुटा आरोप लगाएर मेयरको चरित्रहत्या गरेको भन्दै मेयर बालेनको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए।
पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा रहेर काम गर्दै आएका थिए।
सोही क्रममा उनी १६ पुस २०८० मा निलम्बनमा परेका थिए ।
महानगरपालिकाले निलम्बन गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए। त्यसपछि कर्मचारी पौडेल र मेयरबीच द्वन्द्व सुरु भएको थियो।
