काठमाडौँ- बहुराष्ट्रिय प्रविधि कम्पनी गुगल नेपालको विद्युतीय सेवा करप्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व कार्यालयअन्तर्गत ठूला करदाता कार्यालय (हरीहर भवन)मा उक्त कर प्रणालीमा गुगल दर्ता भएको हो।
चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत विद्युतीय सेवा कर कार्यान्वयनमा आएको छ। गैरबासिन्दा व्यक्ति वा कम्पनीले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबारको २ प्रतिशत विद्युतीय सेवा कर लाग्ने व्यवस्था छ। सोहीअनुसार गुगल नेपालको कर प्रणालीमा समाहित भएको हो। गुगल विद्युतीय कारोबार करमा दर्ता भएसँगै नेपाल सरकारलाई २ प्रतिशत कर बुझाउने भएको छ।
‘सर्च इन्जिन जायन्ट’का रुपमा परिचित गुगलले एन्ड्रोइट अपरेटिङ स्टम, क्लाउड कम्प्युटिङ, भिडियो स्ट्रिमिङ तथा स्टोरेजलगायतका सेवा उपलब्ध गराउँदै आएको छ।
गुगल विद्युतीय कर प्रणालीमा दर्ता भएपनि यसको कार्यालय भने नेपालमा स्थापना हुने छैन। अनलाइन मार्फत दर्ता भएर उसले वार्षिकरुपमा कर तिर्ने आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले बताए।
‘गुगल विद्युतीय करोबार करमा दर्ता भएको हो। गुगलले नेपालमा कार्यालय स्थापना भएर यहाँको दरदातामा दर्ता हुने होइन। गुगलले नेपालमा दिइरहेको सेवाबाट भएको आम्दानीबाट २ प्रतिशत कर तिर्ने हो,’ उनले भने।
गुगलले अनलाइनबाटै करमा आवद्ध हुनका लागि अनुरोध गरेको र उसको अनुरोधलाई स्वीकार गर्दै ठूला करदाताको कार्यालयले आफ्नो करप्रणालीभित्र आवद्ध गराएको प्याकुरेलले बताए।
‘यो वर्ष आबद्ध भएको गुगलले अर्को वर्षबाट सरकारलाई कर बुझाउनेछ। यो वर्षभर गरेको आयविवरण बुझाएर गुगलले अर्को वर्ष नेपाल सरकारलाई २ प्रतिशत कर तिर्नेछ’, उनले भने।
सरकारले करको दायरा बढाउने भन्दै अनलाइन मार्फत विद्युतीय सेवा कर कार्यान्वयनमा ल्याएपनि यसमा गुगलसहित २ कम्पनी मात्रै दर्ता भएका छन्। अष्ट्रेलियास्थित इविस्को इङ्क पनि विद्युतिय सेवा करमा दर्ता भएको छ।
२० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गैरबासिन्दा व्यक्तिले यस्तो करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ। यस्तो कर समयमा दाखिला नगरेमा वार्षिक ०.१ प्रतिशतका दरले शुल्क र तोकिएको समयभित्र कर नबुझाएमा १५ प्रतिशतका दरले ब्याज हर्जना लाग्ने व्यवस्था छ।
कति तिर्ला गुगलले कर?
विद्युतीय सेवामा करमा दर्ता भएको गुगलले कति कर तिर्ला भन्ने विषय अन्योलपूर्ण छ। गुगलले नेपाली प्रयोगकर्ताबाट वार्षिक कति आम्दानी गर्छ भन्ने यकिन तथ्याङ्क नेपाल सरकारसँग छैन। प्रतिव्यक्ति ५ सय डलरसम्मको समाग्री नेपालले विदेशी बजारबाट खरिद गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। त्यसमध्ये गुगलका प्रोडक्ट कति खरिद हुन्छ भन्ने तथ्याङ्क पनि सरकारसँग छैन।
आफ्नो आम्दानीको विवरण गुगलले ठुला करदाताको कार्यालयमा नबुझाएसम्म गुगलले नेपालबाट गर्ने आम्दानी एकिन हुने अवस्था छैन। यद्यपि सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले गुगलले नेपालबाट गर्ने कारोबारको बारे अध्ययन गर्ने तयारी गरिरहेको छ। उक्त अध्ययनले गुगलले नेपालबाट गर्ने करोबार पत्ता लगाएमा मात्रै उसले नेपालबाट गर्ने आम्दानी एकिन हुने मन्त्रालयको भनाई छ।
नेपालमा रहेका अधिकांश एन्ड्रोइड प्रयोगकर्ता गुगल प्रोडक्टहरु प्रयोग गर्छन्। तर, उनीहरुमध्ये कतिले गुगलका सामाग्री खरिद गर्छन् भन्ने सकिने अवस्था छैन। नेपालमा क्लाउड कम्प्युनिटङ, युट्युबमार्फत हुने गुगल एड, म्याप वा मार्फतगुगलले गर्ने आम्दानीको तथ्याङ्क सरकारसँग छैन।


