काठमाडौँ- नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउने विषयलाई ‘बटमलाइन’ बनाउने भएको छ।
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठलेले यस्तो निष्कर्ष निकालेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।
‘संसदीय छानबिन समिति कस्तो बनाउने त्यसको क्षेत्राधिकार खुलेर छलफल गर्न हामी तयार नै छौं,’ महामन्त्री थापाले भने, ‘संसदीय छानबिन समिति बनाएर जाने सामान्य माग हो। सरकार यसमा संवेदनशील हुनुपर्छ भन्ने पोजिशन हाम्रो रहन्छ।’
संसदीय छानबिन समितिका विषयमा बैठक एकमत रहेको थापाको भनाइ छ।
संसदीय छानबिन समितिबारे छलफल गर्न सभामुख देवराज घिमिरेले ४ दलका शीर्ष नेताहरूलाई २ः३० बजे बोलाएका छन्।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुने भएका छन्।
कांग्रेसले यसअघि बसेको प्रतिनिधि सभा बैठकमा आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति ल्याउनुपर्ने भन्दै ‘अल्टिमेटम’ दिएको थियो।
उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएकोले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको आवश्यकता रहेको कांग्रेसले बताउँदै आएको छ।
४ घण्टा सर्यो सभामुख र शीर्ष नेताबीचको छलफल, एजेन्डा सदनमा कांग्रेसको अवरोध


