काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न भएको आरोप लागेकाले छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ।
सोही माग संसदमा राख्दै आएको कांग्रेसले मंगलबार प्रतिनिधि सभा बैठक चल्न नदिएपछि तत्कालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरूलाई बैठकमा बोलाएका थिए।
बैठकमा सभामुख देवराज घिमिरे र एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने पनि सहभागी थिए।
बैठकमा सहकारी अनियमितामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग कांग्रेसका नेताहरूले दोहोर्याएका थिए।
आफूहरूको माग सम्बोधन नभए कांग्रेसले संसद् चल्न नसक्ने र त्यसको जिम्मेवार सत्तारुढ दल नै हुनुपर्ने निर्णय पनि संसदीय दलको बैठकले गरेको भनेर सुनाएका थिए। सोही विषय नेपाली कांग्रेसले मंगलबारको बैठकको सुरुमा राखेका थिए।
बैठकको सुरुमै सभामुख घिमिरेले सदनलाई नियमित रुपमा सञ्चालन गर्न अहिलेसम्म भएको पहलबारे जानकारी गराएका थिए।
देशभरका सहकारी संस्थामा व्यापक अनियमितता एवं ठगी भएको र लाखौं बचतकर्ताको अर्बौँ रकम दुरुपयोग, अपचलन, हिनामिना भएकाले यो विषयलाई सामान्य रूपमा लिन नसकिने कांग्रेसले भन्दै आएको छ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले पूर्वाग्रह राखेर माग अघि सारेको भन्दै उनले कुनै हालतमा संसदीय छानबिन समिति नबनाउने बताए।
लामिछानेले सहकारीको अनियमितामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरे।
अनियमिततामा संलग्नता नभए संसदीय समिति बनाउन किन अठ्यारो भनेर प्रश्न गरेका थिए। उनले सहकारीमा भएका सबै ठगी छानबिन गर्ने गरी समिति बनाउन सकिने बताएका थिए। बैठकमा कुनै दल टसमस नभएपछि बैठक विना निष्कर्ष टुंगिएको छ।
अघि पनि सभामुख देवराज घिमिरेले सोमबार आफ्नै कार्यकक्षमा ४ दलका शीर्ष नेताको बैठक बोलाएका थिए। उक्त बैठकमा पनि संसदीय समिति बनाउन आवश्यक नभएको सत्ताधारी दलको भनाइ थियो। कांग्रेसले आफूहरूको पुरानै माग दोहोर्यायो। यसपछि उक्त बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो।
सहकारी ठगीका विषयमा रवि लामिछानेले आफू कहीँकतै पनि संलग्न नभएको भन्दै आएका छन्। उनको भनाइलाई एमाले अध्यक्ष ओली र प्रचण्डले संसदबाट नै सफाइ दिइसकेका छन्।
यसरी आरोप लागेको व्यक्तिलाई सफाइ दिएको भन्दै कांग्रेस आक्रोशित छ। तर कांग्रेसका माग सम्बोधन गर्न सत्तारुढ र सकरारले कुनै लचकता देखाएका छैनन् भने कांग्रेस कठोर बन्दै गएको छ।
संसदमा कांग्रेस कडा रूपमा प्रस्तुत भएकाले कांग्रेसले आफ्ना कुरा राखेपछि आजको बैठक सकिएको छ। १५ मिनेट पछि बस्ने भनेर स्थगित भएको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।


