राँझा (बाँके)- भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ।
भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका छजनाको निधनले सम्पूर्ण वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताए।
दुर्घटनामा बाँकेका ६, बर्दियाका एक जनाको मृत्यु भएको थियो। सोही दुर्घटनामा अर्का एक जना भारतीय नागरिकको मृत्यु भएको थियो।
वडाध्यक्ष थारूका अनुसार दुर्घटनामा बाँके बैजनाथ गाउँपालिका वडा नं ८ टिटिहिरियाको फत्तेपुरगाउँ निवासी उदयराम थारू, धीरज थारू र विश्राम थारू, रिहारपुर गाउँ निवासी तीलकराम थारू र थपुवागाउँ निवासी अन्तराम थारू र विनोद थारूको मृत्यु भएको छ। थपुवा गाउँकै दशरथ थारू र फत्तेपुर निवासी शान्ति थारू घाइते छन्। उनीहरूको हल्द्वानीस्थित तिवारी राजकीय अस्पतालमा उपचार भइरहेको छ ।
‘नयाँ वर्षको मुखैमा भएको अकल्पनीय दुर्घटनाले हाम्रो वडा शोकमा छ,’ वडाध्यक्ष थारूले भने, ‘भारतमा दुर्घटना भएकाले त्यहाँको नियम पूरा गरेर शव ल्याउन नेपाल प्रहरी र भारतीय प्रहरीसँग समन्वय गरिरहेका छौँ।’
नैनीताल जिल्ला बेतालघाट क्षेत्रमा ज्याला मजदुरी गर्न गएका नेपाली कामदार सोमबार साँझ मालसामान लोड गरेर घर आउन लागेका थिए।
बर्दियाको बाँसगढी नगरपालिकाका हर्कबहादुर गिरी र प्रेमबहादुर बुढा सबैभन्दा पछि जिपमा चढ्दै थिए।
जिप स्टार्ट भएलगत्तै पछाडि धकेलिएर भीरमा खस्यो । जिप २ सय मिटर तल खोचमा खसेर दुर्घटनामा परेको थियो। गिरी हाम फालेर जोगिए। उनीसँगै घर फर्कन लागेका ७ नेपालीको त्यहीँ मृत्यु भयो। गिरीको हात र खुट्टामा चोट छ।
वडाध्यक्ष थारुले भने, ‘मृतकका आफन्त दुर्घटनाको खबर पाउनासाथ भारततर्फ गएका छन्।’ मृतकमध्ये कोही ६ महिना अघि त केही एक वर्ष अघि मजदुरीका लागि भारत गएका थिए।


