काठमाडौँ- सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै बैठकले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यका लागि डा दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको छ। समितिमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्ष छन्।
समितिको सदस्यहरूमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेको शर्माले जानकारी दिइन्।
बैठकले संसद्को चालु अधिवेशन आगामी वैशाख २ गते मध्यरातदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिइन्।
बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।


