काठमाडौँ- वैचारिक बहसको मञ्च ‘किस्कोर्स डबली’ १० वर्ष पुगेको अवसरमा काठमाडौँमा २ दिने विचार उत्सव हुने भएको छ।
वैशाख २२ र २३ गते नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिए।
नेपाल र भारतका करिब ८० जना वक्ताहरु सहभागी हुने बहस २ दिन र २० वटा सत्रमा चल्ने छ।
समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण, साहित्य, संगीत, कला, शहरी सौन्दर्यलगायतका दुई दर्जन विषयमा बहस हुनेछ। कार्यक्रममा राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशकलगायतले आ–आफ्नो विषयमा बहस गर्नेछन्।
कार्यक्रममा लेखक तथा विश्लेषक सिके लालले ‘बौद्धिकताको कसीमा नेपाली समाज’ शीर्षकमा मूलप्रवचन दिने छन्। यस्तै, भारतको बद्लिँदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सह–प्राध्यापक तथा विश्लेषक डा।सरोज गिरीले बहस गर्नेछन्।
उत्सवमा वैचारिक बहसबाहेक नाटक प्रदर्शनी पनि हुनेछ। यस्तै, चित्रकला प्रदर्शनी, कार्टुन प्रदर्शनी र सांगीतिक उत्सव पनि आयोजना गरिने ढुंगेलले बताए।
डबलीका संस्थापक रोहेज खतिवडाले उक्त कार्यक्रममा विश्वविद्यालय के हो, नेपालमा ज्ञानको संकट छ कि छैन ?, तत्कालीन समस्या हल गर्नका लागि हामीसँग भएको ज्ञान पर्याप्त छ कि छैन ? नेपाली समाजमा वौद्धिकताको अभ्यास कस्तो रह्यो ? विद्यार्थी राजनीति र समसामायिक राजनीतिजस्ता विभिन्न विषयमा बहस गर्ने बताए। शिक्षामन्त्री सुमना श्रेष्ठका साथमा विचारमय, बहसमय कार्यक्रम सम्पन्न गर्ने उनले जानकारी दिए।


