काठमाडौँ- कामका लागि विदेश जाने नेपाली श्रमिकको हवाइ टिकटमा खानाखाजा र पानीसहितको टिकट दिन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभलहरूलाई यस्तो आग्रह गर्दै पत्र लेखेको हो।
विभागले बुधबार नै पत्राचार गरी हवाइ टिकटमा नै खानाखाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो।
मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा ४ घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ। उडान समय भन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ।
यसरी घण्टौँको यात्रामा पनि श्रमिकले पानीसमेत नपाउने भन्दै गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए।
‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्को तिर्नुे अनि न्यूनतम खानाखाजा तथा पानीको पनि नपाउँदा श्रमिक भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ। यस्तो धेरै गुनासो सुनियो। त्यसैले सबैलाई बोलाएर छलफल गर्यौँ,’ उनले भने, ‘श्रमिक भोको नपर्ने गरी व्यवस्था गर्न आग्रह गरेका छौँ।’
विभागले यस्तो आग्रह गरेको भए पनि त्यसको आर्थिक भार भने श्रमिकमाथि नै पर्ने देखिन्छ।


