काठमाडौँ- आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण गरेको हो।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ।
आगामी साताभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहने भएकाले वर्षा हुने आकलन महाशाखाको छ।
साताको शुरूमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हुने साताको मध्य तथा अन्त्यमा लुम्बिनी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
देशका अधिकांश स्थानहरूमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको पनि महाशाखाको भनाइ छ।
वर्षा नहुँदा देशभरका विभिन्न स्थानमा आगलागी भइरहेको छ। आगलागीमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।
पछिल्लो समय आगो निभाउन जानेहरूकै मृत्यु हुने क्रम बढ्न थालेको छ।
