काठमाडौँ- रु १०० को नोटमा नेपालको नयाँ (चुच्चे) नक्सा राख्ने निर्णय भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि पनि नोटको अग्रभागको पृष्ठभूमिमा नेपालको नक्सा थियो।
तर त्यो चुच्चे नक्सा थिएन।
पुरानो नक्सालाई हटाएर नयाँ नक्सा राख्ने निर्णय सरकारले गरेको हो।
२०७७ जेठ ७ गते तत्कालीन सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो।
चुच्चे नक्सामा नेपालको दार्चुला जिल्लाका गुञ्जी, नाबी, कुटीलगायतका क्षेत्र समावेश छन्।
यसअघि भारतले ३१ अक्टोबर २०१९ मा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालका ती भूभाग समावेश भएको भन्दै नेपालले विरोध गरेको थियो।


