काठमाडौँ- नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख कृष्ण धितालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।
सभामुखले असंवैधानिक घोषणा गरेकाले त्यसविरुद्ध सर्वोच्चमा रिट दिएको कांग्रेसका गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले जानकारी दिए।
६० सदस्यीय प्रदेशसभामा ३० सांसदलाई नै बहुमत पुगेको भनी घोषणा गरिदिएपछि पाण्डे धितालविरुद्ध रिट लिएर सर्वोच्च पुगका हुन्।
आइतबार मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा ३० मत परेपनि सभामुख धितालले बहुमत पुगेको भनी घोषणा गरेका थिए।
त्यसलगत्तै नेपाली कांग्रेसाले प्रदेश सभामा कालो टालो देखाउँदै विरोधमा नाराबाजी चर्काएको थियो। मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाए तर कपटपूर्ण र असंवैधानिक ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न पाण्डेले दर्ता गराएको रिटमा माग गरिएको छ।
संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको पाण्डेको दाबी छ।
प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत पाण्डेले माग गरेका छन्।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ। तर एमाले र माओवादीको सत्ता गठबन्धनले संविधानको धज्जी उठाएको भन्दै आलोचना भइरहेको छ।


