सिन्धुली– राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ वारपार (ब्रेकथ्रू) भएको छ।
सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइभर्सनमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्विच थिचेपछि ब्रकथ्रु गरिएको हो।
सुरुङ वारपार हुनका लागि केही सेन्टिमिटर बाँकी राखेर वारपार गराउनका लागि दाहाललाई बोलाइएको थियो।
यो आयोजनामा २०७९ असोजबाट सुरुङ खन्न सुरु भएको थियो।
सुनकोशी नदीको पानीलाई मधेश प्रदेशका ५ जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा पुर्याएर सिँचाई सुविधा उपलब्ध गराउनु आयोजनाको उद्देश्य हो।
आयोजनाबाट करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिँचाई सुविधा पुग्ने विश्वास गरिएको छ।
सिँचाइका साथै ३१.७ मेगावाट विद्युत् पनि उत्पादन गर्ने लक्ष्य छ।
यो आयोजनामा १३.३ किलोमिटर सुरुङमार्फत सुनकोशी नदीको पानी मरिण नदीमा मिसाइनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
‘बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,’ दाहालले भने, ‘आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ।’


