काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका पछाडि प्रहरी नभएर कांग्रेस लागेको आरोप लगाएका छन्।
रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थकेन्द्रित भएकोसमेत उनको भनाइ छ।
एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
कांग्रेस प्रमुख सचेतकले मुद्दाको फाइल बोकेर हिँडेको आरोप लगाउँदै उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालय भन्दैछ, केही छैन। उहाहँरु विभिन्न पृष्ठमा नाम उल्लेख भएको ल्याउनुभएको छ।’
कांग्रेसले भने जस्तो संसदीय समिति बनाएपछि राजीनामा माग्ने ओलीको तर्क थियो। ‘हामीले रविजीको राजीनामा मागेका छैनौं भन्नु भएको छ। अहिले समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ?’ उनले भने, ‘छानबिन समिति बनाएलगतै राजीनामाको खेल सुरु गर्नु हुन्छ।’
सहकारीमा समस्या रहेको भन्दै कसरी समस्या समाधान गर्ने भनेर सरकारले कदम चाल्नुपर्ने बताए।








