काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती दिएका छन्।
शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा आफूलाई बोल्न सभामुखले समय दिएपनि कांग्रेस अवरोधपछि सदन स्थगित भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चुनाौती दिएका हुन्।
ऋण लिनका लागि आफूले सहकारीमा निवेदन दिएको प्रमाण देखाए आफूले राजनीति नै छोड्ने तर त्यो प्रमाण दिन नसके गगन थापाले राजनीति छोड्नुपर्ने बताएका हुन्।
‘माननीय गगन थापाले गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो। मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ। संसदीय समिति सामान्य कुरा हो। त्यो भन्दा पहिला म सदनमा बोल्न पाउनुपर्छ।’
प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन किन डराएको? किन आत्तिएको? भन्दै प्रश्न गरेका थिए।
शुक्रबार कांग्रेसको निरन्तरको अवरोधपछि बैठक जेठ १ गते साँझ ६ बजेका लागि तोकिएको छ। सोही दिन राष्ट्रपतिले सदनमा आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ।
तर कांग्रेसको विरोध जारी रहेको अवस्थामा उक्त कार्यसूची प्रभावित हुन सक्ने देखिएको छ।


