काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी आरोप लागेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन्।
चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले यस्तो जिकिर गरेका हुन्।
जिबी राई कहिले पक्राउ पर्छन् भनेर पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो आरोप लगाएका हुन्।
‘समस्या आउँदा आउँदै भगाएको चाहिँ किन भन्ने प्रश्न पनि आउँछ। भगाइसकेको मान्छेलाई समय लाग्ने भएकाले हरकोशिस भइरहेको छ। भाग्दाखेरी को थियो सरकारमा खोज्नुस्,’ रविको उत्तर थियो।
संसद् सबैले बोल्न पाउनुपर्ने बताएका उनले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती पनि दिएका थिए।
‘छानबिन समिति बनाए पनि हुन्छ। तर संसद्मा बोल्न पाउनुपर्छ।’ उनले भने,‘नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिने होइन।’
राईलाई पक्राउ गर्ने विषयमा आफूले कोसिस गरिरहेको उनको जिकिर छ।
‘राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ,’ उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको छ,’ लामिछानेले थपे।
प्रहरीले सवारीचालक अनुमतिपत्र घोटलादेखि ठूला अनियमिततासम्मका फाइल अनुसन्धान गरिरहेको उनले बताए। बालमन्दिरको जग्गाको विषय कहिलेदेखि अड्किएको थियो भनेर रविले प्रश्न गरेका छन्। अहिले २० जनालाई पक्राउ पुर्जी जारी गरिएको छ। लामिछानेले सहकारी ठगीमा पक्राउ पुर्जी जारी भई फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन्।


