काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै उनले यस्तो बताएका हुन्।
उनले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गरे। उनले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतीहरूको सामाना गर्नुपरेको उल्लेख गदै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन नसकेको बताए।
दाहालले दुर्गम गाउँहरूमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे। अध्यक्ष दाहालले नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश रहेको पनि बताए।
‘‘नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश हो। वैभवशाली प्राकृतिक श्रोत साधन, सांस्कृतिक विविधता र मेहनती, स्वावलम्बी एवम् परिश्रमी मानिसहरूले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश पनि हो। तर साँचो समृद्धिको बाटो भने सहज छैन। हामीले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतीहरूको सामाना गरेका छौँ। जसले हाम्रो देशको समृद्धिमा सोचेअनुसार काम भइरहेको छैन।,’ अध्यक्ष दाहालले भने, ‘दुर्गम गाउँहरूमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्त्वपूर्ण भूमिका खेलका छन्। जसले श्रोतहरूको पहिचान गर्दै साझेदारीलाई बढवा दिँदै र व्यक्तिलाई आफ्नै विकासको जिम्मा लिन सशक्त बनाउँदै अगाडि बढिरहेका छन्।’
अध्यक्ष दाहालले अनुभव, अन्तर्दृष्टि र उत्कृष्ट अभ्यासलाई साझा र सामूहिक गरेर मात्रै समुन्नत र समतामूलक नेपाल निर्माण गर्न सकिने बताए।


