काठमाडौँ- सहकारी ठगीमा संलग्न भएको आरोपमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएको दाबी नेपाली कांग्रेसले गरेको छ।
आइतबार बिहान प्रधानमन्त्रीले बोलाएपछि छलफल गरी बाहिरिने क्रममा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका हुन्।
‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले हाम्रो कुरालाई यथावत राखेका छौँ। प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ,’ लेखकले भने।
यसपछि कांग्रेसले कस्तो प्रतिक्रिया दियो भन्ने कुरा भने उनले खुलाउन चाहेनन्। सोमबार दिउँसो संसदीय दलको बैठकबाट थप निर्णय लिइने उनले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानीका लागि नेपाली कांग्रेसका ५ जना नेता बालुवाटार पुगेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका हुन्।
सहकारी ठगीमा छानबिन समिति बनाउन प्रचण्ड लचक भएपनि एमाले र रास्वपाले छानबिन समिति आवश्यक नै नभएको बताउँदै आएका छन्।
कांग्रेसले सदनमा अवरोध जारी राखेमा जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका प्रभावित हुने देखिएको छ।


