काठमाडौँ- उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएका हुन्।
यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन्।
अशोक राईले जसपा नेपाल (जनता समाजवादी पार्टी, नेपाल) लाई फुटाएर जसपा (जनता समाजवादी पार्टी) गठन गरेपछि यादव र कार्कीले राजीनामा दिएका हुन्।
जसपा नेपालबाटै वनमन्त्री बनेका नवलकिशोर साह सुडी भने सरकारमै छन्। सुडी अशोक राई नेतृत्वको जसपामा लागेका छन्।
‘विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा पदबाट राजीनामा दिन चाहन्छु,’ यादवले दिएको राजीनामा पत्रमा उल्लेख छ।
राईको जसपालाई ७ जना प्रतिनिधि सभा सांसदले साथ दिएका छन्। १२ जना प्रतिनिधि सभा सांसद भएको जसपा नेपालमा अब ५ जना सांसद मात्र बाँकी भएका छन्।
जसपा गठन भएपछि मधेश सरकारबाट एमाले र माओवादी केन्द्र आइतबार बाहिरिएका छन्। मधेशमा जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन्। मधेशमा जसपा सरकार ढालेर नयाँ सरकार बनाउन एमाले, माओवादी, जनमत र लोसपाले सहमति गरिससकेका छन्।



