काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा अवरोध नगर्ने भएको छ।
मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो सहमति बनाएको हो।
बैठकमा सहभागी नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि भने आफूहरूको अवरोध जारी नै राख्ने विषयमा पनि सहमति भएको छ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए।
यस्तै प्रचण्डले कांग्रेसको माग बमोजिम छानबिन समिति गठन गर्न पनि आफू सकारात्मक रहेको बताएका थिए।
सोमबार दिउँसो तीन बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दैछन्।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने चेतावनी कांग्रेसले दिएको थियो।
