काठमाडौँ- प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ। बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ४ बजेका लागि सरेको हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेको भन्दै प्रधानमन्त्री पुष्षकमल दाहालले सभाको बैठक केही समय ढिला गर्न भनेपछि सभामुखले बैठक सारेका हुन्।
प्रधानमन्त्री प्रचण्डका अनुसार आजको बैठकमा नै गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण निर्माणको प्रयास भइरहेको छ।
त्यसका लागि प्रधानमन्त्री प्रचण्डले बुधबार पनि कांग्रेस नेताहरुसँग छलफल गरेका थिए।
सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग नेपाली कांग्रेसले राख्दै आएको छ।
कांग्रेसको यही अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन।


