सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा विसं २०३१ मा जन्मिएका शाहीले त्रिभुवन विश्वविद्यालयको ल क्याम्पसबाट बीएलसम्मको अध्ययन गरेका छन्।
राष्ट्रिय आवास कम्पनी लिमिटेड र चिया कफी विकास बोर्डको कानुनी सल्लाहकारको भूमिका निर्वाह गरेका शाही विसं २०६२ देखि कानुनी पेसामा आबद्ध छन्।
प्रदेश प्रमुखको कार्यालय धनगढीमा आज प्रदेश प्रमुख मियाँको उपस्थितिमा नवनियुक्त मुख्य न्यायाधिवक्ता शाहीलाई उच्च अदालत दीपायलका मुख्यन्यायाधीश शान्तिसिंह थापाले पद तथा गोपनीयताको शपथग्रहण गराए।
