काठमाडौँ- प्रतिनिधिसभाको बैठक सरेको छ। बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेका लागि सारिएको हो।
सहकारी प्रकरणमा छानबिन समितिको कार्यक्षेत्र (टीओआर) तय नभएसम्म प्रतिनिधि सभा बैठक नराख्न विपक्षी दलले आग्रह गरेपछि सभामुखले बैठक सारेका हुन्।
संसदीय समितिको कार्यक्षेत्र तय गर्न सत्ता र विपक्षी दलको संयुक्त कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी छ।
बैठकमा दलहरूले पुरानै अडान कायम राखेपछि कुनै प्रगति भएको छैन।
नेपाली कांग्रेस संसदीय समितिको कार्यक्षेत्रमा नै रवि लामिछानेको नाम लेख्नै पर्ने अडानमा छ। तर एमाले र रास्वपाले भने व्यक्तिको नाम नलेख्ने बताउँदै आएका छन्। यही विषयको विवाद मिलेको छैन।
गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समितिको टीओआरमा सहमति नजुटेसम्म बैठक नचलाउन विपक्षी मोर्चाको आग्रहपछि सदनको समय परिवर्तन गरिएको हो।
उता राष्ट्रिय सभा बैठकको पनि समय सारिएको छ। दिउँसो १:१५ बजे बस्ने भनिएको बैठक ३:१५ बजेसम्मका लागि सारिएको छ।



