काठमाडौँ- दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
उनीहरूमध्ये केहीलाई पक्राउ गर्नका लागि प्रहरीले हवाइ फायर पनि गरेको थियो।
जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो।
‘विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेका छौं,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भने।
रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको हो ।
पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की हत्या आरोपमा पक्राउ परेका हुन्।
यस्तै ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक पनि पक्राउ परेका छन्। उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन्।
शुक्रबार तारकेश्वर नगरपालिका—९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए।
प्रहरीका अनुसार प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो।
खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए।


