काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबार संसद्मा विश्वासको मत लिने भएका छन्।
जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
सरकारले संसद्लाई विश्वासको मत लिने सन्दर्भमा पत्राचार गरेको छ।
साथै नीति तथा कार्यक्रममाथि छलफल पारित गर्नुपर्ने, जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने भएकाले संसद् सुचारु गर्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षबिच संवाद अघि बढेको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक नियमित हुने बताएका छन्।
उनले भने, ‘सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलबिच सहकारीको अनियमितता छानबिनका सन्दर्भमा संसदीय समिति गठन गर्ने सहमति भइसकेको छ। त्यसैले सदन नियमित हुन्छ।’
२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो। यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए।
उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए। पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए। तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए।


