काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले शिथिल अर्थतन्त्र अहिलेको प्रमुख समस्या भएको बताएका छन्। शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीति खुकुलो बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट एवम् राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले उक्त कुरा बताएका हुन्। राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिक नीति आवश्यक थियो वा थिएन भन्दा पनि आगामी दिनमा यसलाई खुकुलो बनाउनुपर्नेमा उनले जोड दिए। यसका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भएको र गभर्नरले गम्भीरतापूर्वक लिएको डा महतको भनाइ छ।
‘अर्थतन्त्रको दुईवटा महत्त्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति हो। मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ। राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार छ। एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गरियो। कति कसिकसाउ गर्नुपर्ने थियो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो,’ मन्त्री डा. महतले भने, ‘मलाई लाग्छ, त्यसलाई मौद्रिक नीति खुकुलो गर्न जरुरी छ। यो कुरा मैले राष्ट्र बैंकको नेतृत्वलाई भनेको छु। उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु।’
महँगो ब्याजदर बजारमा पुँजी प्रवाहमा समस्या भएको डा महतको भनाइ छ। मौद्रिक नीतिमार्फत् बजारमा पूँजी प्रवाह गर्न जरुरी रहको भन्दै उनले यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्नुपरेमा जोड दिएका छन्।
वित्तीय नीतिको आफूले नेतृत्व गरेपनि यसमा विभिन्न समस्या रहेको मन्त्री महतले स्वीकार गरेका छन्। पुँजीगत खर्च हुन नसकेको, ठेक्काको प्रक्रियामा समस्या रहेको, साइड क्लियरेन्स नभएकोलगायतका समस्या रहेको उनले बताए।
बजेट ल्याउने धेरै समय बाँकी नरहेको अवस्थामा आफू अर्थमन्त्री भएर आएको र संविधानतः बजेट प्रस्तुत गर्न एक महिना मात्र बाँकी रहेकाले समस्याका धेरै पाटा केलाउने काम आफूले गरिरहेको उनको भनाइ छ।
‘समस्याका धेरै पाटा छन्। समस्याको चाङ छ। समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिनँ। समस्या समाधानमा मेरो इमान्दार कोसिस हुनेछ, समर्पित भएर म काम गर्दैछु। कसरी हामी एकाकार भएर अर्थतन्त्रमा देखिएका समस्या, अवरोध, शिथिलतालाई हटाउने म इमान्दार प्रयास गर्नेछु,’ उनले भने।
‘देश चलाउन पनि सम्पूर्ण संयन्त्र एकाकार भएर अघि बढ्नुपर्छ। एउटै लक्ष्य छ, सबैको आ–आफ्नो जिम्मेवारी छन्, यो जिम्मेवारी पूरा गर्ने मान्यताका साथ लाग्यौं भने हामी लक्ष्यमा पुग्छौँ,’ उनले भने।
राज्य संयन्त्रमा समस्या भएको , समस्यालाई सम्बोधन गर्न र समस्या छन् भनेर स्वीकार गर्न आफूलाई कुनै पनि हिचकिचाहट नरहेको उनले बताएका छन्। समस्यासँगै २०४६ सालको परिवर्तनपछि मुलुकले धेरै कुरा प्राप्त गरेको बारे भुल्न नहुने समेत उनले बताए।


