काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले नेपालमा प्रेस स्वतन्त्रता सुनिश्चित हुने आशा आफ्नो देशले राखेको उल्लेख गरेको छ। दूतावासको फेसबुक पेजमा छोटो नोट जारी गर्दै दूतावासले यस्तो उल्लेख गरेको हो।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पक्राउ गरेपछि नेपालस्थित अमेरिकी दूतावासले सांकेतिक रूपमा त्यसको विरोध गरेको हो। यद्यपि उक्त नोटमा कान्तिपुर र सिरोहियालाई समावेश गरिएको छैन।
‘सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ,’ दूतावासको नोटमा उल्लेख छ।
आफ्नो मुलुकका लागि प्रेस स्वतन्त्र मार्गदर्शक सिद्धान्त भएको उसको भनाइ छ। ‘अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्,’ नोटमा उल्लेख छ।
मंगलबार कान्तिपुर पब्लिकेसन्सस्थित आफ्नै कार्यकक्षबाट सिरोहिया पक्राउ परेका थिए। त्यसविरुद्ध अहिले राजनीतिक दल, पत्रकार सङ्घ-सङ्गठनदेखि सञ्चारगृहहरूले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेको बताइरहेका छन्। सिरोहियालाई धनुषा जिल्ला अदालत पुर्याइएको छ।


