काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको समर्थन गरेको छ। रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य आफ्नो जानकारीमा आएको भन्दै त्यसलाई समर्थन गरिएको बताएका हुन्।
‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन,’ डा. ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्।’
जिल्ला प्रशासन कार्यालय धनुषाले सिरोहियाका नाममा जारी गरेको नागरिकता नम्बर अर्को व्यक्तिसँग मिलेको भन्दै प्रहरीले उनलाई गिरफ्तार गरी धनुषा पुर्याएको छ।
‘विधिको शासनको अर्को सौन्दर्य हो: ‘कानुन भन्दामाथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हो। कोही-कोहीलाई छुनै हुन्न’ भन्नु सामन्ती कायरता हो। यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ।

यता सिरोहियाले भने आफ्नो पत्रिकाले लामिछाने सहकारी ठगीमा संलग्न भएको विषयमा तथ्यहरूसहित समाचार प्रकाशन गरेको विषयलाई विषयान्तर गरी प्रतिशोध गरिएको आरोप लगाउँदे आएका छन्। सिरोहियालाई पक्राउ गरिएको विषयमा नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा एस, जनमतलगायतका दलले पनि विरोध गरिरहेका छन्। यस्तै विभिन्न सञ्चारसंस्थाले पनि लामिछानेका गतिविधिलाई प्रतिशोधपूर्ण भनेका छन्।
नेपालस्थित अमेरिकी दूतावासले कुनै पक्षको नाम उल्लेख नगरी आफूहरूले पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान गर्ने जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने सिरोहिया पक्राउका विषयमा धेरै बढी हो-हल्ला गर्न जरुरी नभएको बताएका छन्।
