काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडक आन्दोलन गर्ने घोषणा गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
केन्द्रीय सदस्य डा. डिला संग्रौलाका अनुसार प्रथम चरणमा आगामी शुक्रबार काठमाडौँको भृकुटीमण्डप बृहत् प्रदर्शन गरिनेछ। सहकारी प्रकरण प्रभावित सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने रणनीति कांग्रेसको छ।
‘जति पनि सहकारी ठगीका घटना छन्, तीबारे छानबिन समिति बन्नै पर्छ’, संग्रौलाले भनिन्, ‘शुक्रबारदेखि काठमाडौंबाट आन्दोलन घोषणा भएको छ। आन्दोलन देशव्यापी जान्छ।’
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेको भन्दै कांग्रेसले उनीमाथि छानबिन समितिको माग गर्दै सदनमा अवरोध गर्दै आएको थियो। तर आफूहरूको विरोधलाई सत्ता पक्षले पेलेरै सदन चलाउन थालेपछि कांग्रेस सडक आन्दोलनमा उत्रिएको हो।


