काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध दायर रिटमा मिसिल मगाउने आदेश गरेको छ।
बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले यस्तो आदेश गरेको हो। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदाको सम्पूर्ण फाइल र अन्य फाइलहरू मगाउने आदेश गरेको हो।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएपछि उक्त फाइल पनि पेस गर्न भनिएको हो।
यसअघि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। चैत २५ गते एमाले-माओवादीले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका केदारले वैशाख २५ गतेसम्म विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले हिक्मतलाई मुख्यमन्त्री बनाएका थिए।
वैशाख २७ गते एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बने। उनले ३१ वैशाखमा विश्वासको मत लिएका छन्।


