काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणलाई सत्ता गठबन्धनको ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेका छन्। बिहीबार झापा पुगेका ओलीले बुधबार प्रधानमन्त्रीको भनाइसँग मेल खाने गरी अभिव्यक्ति दिएका हुन्।
‘ह्यु एन्ड क्राइ (रुवाबासी) भन्छन् नि त्यो भइराखेको छ। त्यो गर्नुपर्नेजस्तो विषय लाग्दैन मलाई। विवादको विषय हुन सक्छ। जन्मकैद गर्न खोजेको होइन,’ उनले भने, ‘सञ्चारमाथिको हमला भनेर। पत्रकारमाथि फौजदारी अभियोग छ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ। किन यस्तो समाचार प्रकाशित गर्याे? किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो।’
उनले एकजना मिडिया मालिका पक्राउ पर्दैमा डेमोक्रेसी नै खतरामा पर्यो भन्नु गलत भएको टिप्पणी गरे।
‘एकजना मिडिया हाउसका मानिस गिरफ्तार भए? सही हो या गलत म त्यता जान चाहन्न। टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो त? के अब सञ्चारका हक खोसिएकै हुन् त? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन। जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छ, ओलीले अगाडि भने, ‘कोही समाउँदा मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने? अहिले डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त?’


