दमौली- तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ। ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर प्रमुख वैकुण्ठ न्यौपानेले पद सम्हालेको २ वर्षपछि पुनः मतगणना हुन लागेको हो।
उच्च अदालत पोखराले पुनः मतगणना गर्नुपर्ने फैसला सुनाएपछि फेरि मत गन्न लागिएको हो।
उच्च अदालतले जेठ १ गते फैसलाको पूर्णपाठ बिहीबार जिल्ला निर्वाचन कार्यालय तनहुँ लगायतका विपक्षीलाई दिइएको छ। जसमा असार २ गते बिहान मत गणना गर्न भनिएको छ।
नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले धाँधली गरेर नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेलाई निर्वाचित घोषणा गरिएको भन्दै १२ जेठ २०७९ मा पुनः मतगणनाको माग गरेर उच्च अदालत पोखरामा रिट दिएका थिए।
मतगणना गर्दा वडा नं १ देखि ८ सम्म आफूले धेरै मत पाएको तर वडा नं ९ देखि १४ सम्म षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको जोशीको आरोप छ।
नेकपा एमालेको सहयोगमा व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जोशीलाई कांग्रेसका न्यौपानेले २५२ मतान्तरले पराजित गरेका थिए। जोशी नेपाली काँग्रसका पूर्वसहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन्।
न्यौपानेले १२ हजार ७८ मत ल्याएर निर्वाचित हुँदा जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए। उता न्यौपाने पक्षले भने सर्वोच्चमा अर्को रिट दायर गर्ने तयारी गरिरहेको छ।


