काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन्।
देउवालाई भेट्न उनकै निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
देउवा निवासमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला, रमेश लेखक, कार्यदलमा रहेका जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएर छलफल गरिरहेका थिए।
सडक र सदनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन कांग्रेसका नेताहरू बिहानैदेखि देउवा निवासमा भेला भएर छलफल गरिहरेका बेला देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड देउवानिवासमै पुगेका हुन्।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ।
तर सत्ता पक्षका एमाले र रास्वपा कुनै पनि हालतमा लामिछानेमाथि छानबिन हुन नसक्ने बताउँदै आएका छन्।
सदनमा विरोध गरेको कांग्रेसले आजैदेखि सडकमा पनि प्रदर्शन गर्ने तयारी गरेको छ। कांग्रेस सडक उत्रने भएपछि त्यसलाई रोक्ने वातावरण बनाउन प्रचण्ड देउवा निवास पुगेको हुन सक्ने आकलन छ।
यसअघि पटकपटक बसेका सत्ता र विपक्षी दलका नेताहरूको बैठक विना निष्कर्ष टुंगिने क्रम जारी रहेकै बेला प्रचण्ड देउवा निवास पुगेका हुन्।


