काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक मध्याह्न १२ बजे सुरु भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजी उत्रिएको छ।
कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै ‘सहकारी ठगलाई कारबाही गर’सहितका नाराबाजी गरेका छन्।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८१ साल जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गरेपछि छलफल सुरु भएको छ।
त्यसपछि प्रधानमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।
यसअघि अर्थमन्त्री वर्षमान पुन नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि राजस्व र व्यय पेस गर्नुअघि आर्थिक सर्वेक्षण पेश गरेका छन्।
आजै सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने सभामुखको तयारी छ।


