काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति आवश्यक रहेको बताएका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेको भन्दै उनीमाथि छानबिन गर्न पर्ने र त्यसका लागि लामिछाने तयार हुनुपर्ने धारणा राखेका हुन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले संसद् अहिले संसद् जस्तो हुन नसकेको पनि बताए।
‘अहिले संसद् संसद् जस्तो भएको छैन । संसद्को दाहिनेतिर बस्दा मान्छेको चरित्र एउटा, बायाँतिर बस्दा अर्को चरित्र हुने रहेछ’, उनले गृहमन्त्रीतर्फ लक्षित गर्दै भने, ‘आज अहिलेसम्म पनि संसद्को गतिविधि अघि बढ्न सकेन । यसअघि गृहमन्त्री र प्रधानमन्त्रीले मुटु दह्रो छ भनेका थिए । तीन महिनाअघि मात्रै गृहमन्त्रीले खुट्टा कमाउनु भएन भनेको यहीँबाट हो । तर अहिले उहाँहरूको नाम आएको छ किन छानबिन नभएको हो ?’
उनले गृहमन्त्री लामिछाने जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउनै पर्ने बताए। ‘छानबिन समिति बनाउनुपर्छ, यसमा गृहमन्त्री तयार हुनुपर्छ’, उनले भने, ‘सहकारी ठगीमा छानबिन समिति चाहिन्छ ।’
शाहीले सहकारीपीडितहरूको सडकमा बास भएको बताउँदै उनीहरूको बचत फिर्ता हुनुपर्ने उल्लेख गरे। ‘मकै पोलेको र सागको मुठा बेचेको पैसा हो उनीहरूको । नेपाली जनतालाई मार्न कसैले पाउँदैन’, उनले भने, ‘गृहमन्त्रीलाई मेरो प्रश्न, मुटु कमाएको हो ? खुट्टा कमाएको हो ? डराएको हो ?’
उनले सहकारी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी गर्दा गृहमन्त्रीलाई जोगाइएको बताए।


