काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन नहुने गरेको बताएका छन्।
आइतबार ललितपुरमा आयोगको २४औँ वार्षिकोत्सवमा बोल्दै उनले ८६ प्रतिशतभन्दा बढी आयोगका सिफारिसरलाई सरकारले कार्यान्वयन नगरेको तथ्य सार्वजनिक गरेका हुन्।
आयोगले नेपाल सरकारलाई गरेको सिफारिसमध्ये १३.६४ प्रतिशत मात्र कार्यान्वयन भएको पाइएको उनले बताए।
आयोगका सिफारिस पूर्ण कार्यान्वयनका लागि नेपाल सरकारले निरन्तर प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको उनको गुनासो छ। प्रधानमन्त्री कार्यालयमा आयोगका सिफारिस कार्यान्वयन समिति गठन भई कार्य भइरहेकोले सिफारिस कार्यान्वयनमा प्रगति हुने विश्वास व्यक्त गरे।
आयोगमा हालसम्म १३ हजार २७३ उजुरी दर्ता भएका छन्। ७ हजार ८८५ उजुरी फछ्यौट भइसकेका छन्। यस्तै १ हजार ५५५ वटा उजुरीमाथि कारबाही सिफारिस गरिएको छ। तर कार्यान्वयनको स्थिति दयनीय छ।
चालु आवमा आयोगमा ८४ वटा उजुरी दर्ता भई कारवाहीको क्रममा रहेका छन्।
हालसम्म ४२५ वटा उजुरीहरु आयोगको बैठकमा पेस भएको बताए। जसमध्ये ३८३ वटा उजुरीहरु फर्स्योट भएका एवं १३९ वटा सिफारिस गरिएका छन्।
अध्यक्ष मगरले संक्रमणकालीन न्यायको कार्य छिटो टुंगिनुपर्छ भन्नेमा आयोग दृढ रहेको बताए।
‘आयोगका सिफारिस पूर्ण कार्यान्वयनका लागि नेपाल सरकारले निरन्तर प्रतिवद्धता जनाए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। तथापि प्रधानमन्त्री कार्यालयमा आयोगका सिफारिस कार्यान्वयन समिति गठन भई कार्य भइरहेकोले सिफारिस कार्यान्वयनमा प्रगति हुने विश्वास लिएको छु,’ कार्यक्रममा अध्यक्ष मगरले भन।


