काठमाडौँ– सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक निष्कर्षविहीन बनेको छ।
दाहालले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग गरेको छलफल निष्कर्षविहीन भएपछि नेताहरू बाहिरिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलगअलग र संयुक्त छलफल गरेका थिए।
कुनै सहमति नबनेपछि साँझ फेरि छलफल गर्ने सहमति भएको प्रधानमन्त्री निवास स्रोतले बताएको छ। गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकाले संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने नेपाली कांग्रेसको मागमा सहमति हुन सकेको छैन।
रवि लामिछानेलाई जोगाएर छानबिन गर्नुपर्ने सत्तापक्षको अडान र रवि लामिछानेमाथि छानबिन गर्नैपर्ने कांग्रेसको अडान यथावत रहँदा विभिन्न चरणमा पटकपटक भएका बैठकले कुनै पनि निष्कर्ष निकाल्न सकेको छैन।
