काठमाडौँ- गिरिबन्धु टी-इस्टेटको भ्रष्टाचार प्रकरणमा बोलेको भन्दै नेपाली कांग्रेसप्रति नेकपा एमाले आक्रोशित बनेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी र रास्वपासहितको छलफलमा एमालेले आपत्ति जनाउँदै लिखित रुपमा माफी माग्नुपर्ने सर्त अघि सारेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धुको जग्गा सट्टापट्टा गराउन ऐन संशोधन गराउनेदेखि मन्त्रिपरिषद्को निर्णय गराउनेसम्मका काम गरेका थिए। उक्त विषयमा कांग्रेस नेताहरूले बोल्न थालेपछि एमालेले लिखित माफी माग्नुपर्ने सर्त राख्न थालेको हो।
प्रधानमन्त्रीसँगको छलफलपछि बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘कांग्रेसले यी आरोपप्रति लिखित रुपमा क्षमा माग्नुपर्दछ। सार्वजनिक रुपमा माफी माग्नुपर्दछ।’
कांग्रेस नेताहरुलाई एमाले नेताहरुले ‘सहकारी प्रकरणमा आन्दोलन गर्ने अनि एमाले र एमालेका अध्यक्षविरुद्ध बोल्ने? कांग्रेसले चाहेको के हो?’ भनी प्रश्न गरेका थिए।
कांग्रेस कार्यकर्ताहरुले गरेको विरोध प्रदर्शनमा पनि ‘सहकारी ठग कहाँ छन्? गिरिबन्धु जहाँ छन्’लगायतका नारा लेखिएका प्लेकार्ड बोक्दै आएका छन्।
सट्टापट्टा गराउने ओलीको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिसकेको छ। तर कांग्रेसमाथि खनिएर एमालेले ओलीको भ्रष्टाचारजन्य क्रियाकलाप ढाकछोपमा एमाले-रास्वपा र माओवादी पार्टी र सरकार उत्रिएको छ।
‘पछिल्लो दिनमा नेकपा एमालेको विरुद्ध र हाम्रो पार्टीका अध्यक्ष विरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहीन, गलत, भ्रामक, प्रतिशोधपूर्ण लाञ्छनाहरु लगाइरहेका छन्। आधारहीन, प्रतिशोधपूर्ण लाञ्छनाबाट पछि हट्नका निम्ति आग्रह गर्न चाहन्छु,’ पौडेलले भने।
कांग्रेस महामन्त्री शर्माले सहकारी र गिरीबन्धु टि–स्टेटमा एक अर्काले बचाउन ओली र रविबीच सहमति बनेको टिप्पणी गरेका थिए। यसपछि ओली रुष्ट बनेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लोपटक बसेको बैठकमा पनि ओलीले सोही विषय उठाउँदै आक्रोश पोखेका थिए।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार, एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियार लगायत सहभागी थिए।
