काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो नागरिकताबारे दुष्प्रचार गर्नेका विरद्ध कानुनी उपचार खोज्ने बताएका छन्।
बुधबार रिहा भएसँगै उनले बक्तव्य जारी गर्दै प्रहरी प्रशासनले आधारभूत अनुसन्धानबिनै पक्राउ गरी ९ दिनसम्म हिरासतमा राख्ने योजनामा संलग्न तथा आफ्नो नागरिकताबारे दुष्प्रचार गर्ने व्यक्ति र समूहविरुद्ध कानुनी उपचार खोज्ने भएका हुन्।
उनले आफूलाई गरेको गिरफ्तारी कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शंका नरहेको उल्लेख गरेका छन्।
‘प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु’ अध्यक्ष सिरोहियाले विज्ञप्तिमा भनेका छन्, ‘त्यस्तै म गैरनेपाली रहेको, मसँग दुई÷तीन थरी नागरिकता रहेको र मेरो नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेहरूलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौती दिन चाहन्छु। तर, आफ्नो दाबी प्रमाणित गर्न नसक्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी उपचार खोज्ने अधिकार पनि मसँग सुरक्षित राखेको जानकारी गराउन चाहन्छु।’
जिल्ला सरकारी वकिलको कार्यालयसमेतको सहमतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले फौजदारी कार्यविधि संहिताको दफा १५ (१) अनुसार थप अनुसन्धानका लागि थुनामा राखिरहन नपर्ने भन्दै उनलाई बुधबार रिहा गरेको हो।




