काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांगेसको माग सम्बोधन गर्ने गरी संसदीय छानबिन समिति बनेको बताएका छन्।
एक भिडियो सार्वजनिक गर्दै उनले यस्तो उल्लेख गरेका हुन्।
सहकारी बचत ठगी प्रकरणमा संलग्न नेतामाथि संसदीय छानबिन समितिले एक-एक हिसाबकिताब माग्ने थापाको भनाइ छ।
‘सहकारी ठगीमा संलग्न देखिएका व्यक्तिहरूका बारेमा अध्ययन गर्नेजस्ता कुरा संसदीय छानबिन समितिको कार्यादेशमा राखिएको छ,’ थापाले भने, ‘यो समिति जे सोचेर कांग्रेसले विषय उठाएको हो त्यही अनुरूपको समिति बनेको छ। यसमा संलग्न भएका प्रत्येक मानिसको हिसाबकिताब यो समितिले माग्छ, माग्नका लागि बनाएको हो।’
उनले संसदीय छानबिन समितिलाई निर्बाध रूपमा काम गर्न दिनुपर्ने बताए। उनले तीन महिनाभित्र संसदीय छानबिन समितिले काम सक्ने विश्वास पनि व्यक्त गरेका छन्।
‘छानबिन समितिमा रहेका सांसदहरूले कार्यादेश के हो भन्ने राम्रोसँग बुझ्नुभएको छ,’ थापाले भने, ‘गोरखा मिडिया नेटवर्कमा संलग्न गृहमन्त्रीलाई पनि बयानमा बोलाउने हो भनेर कार्यादेश बनाउने बेला नै प्रधानमन्त्रीसँग छलफल भएको थियो। भोलिका दिनमा भाषामा गएर कपटपूर्ण ढंगले व्याख्या गर्न पाउँदैन भनेर प्रधानमन्त्रीले भनेका कुरा सुन्ने साथीहरू नै समितिमा हुनुहुन्छ।’
सहकारी ठगी प्रकरणमा नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा नेतृत्वमा सात सदस्यीय संसदीय छानबिन समिति गठन भएको छ।
समितिमा नेपाली कांग्रेस र एमालेबाट दुई-दुई जना सांसद छन्।
यस्तै माओवादी, रास्वपा र राप्रपाबाट एक-एक जना सदस्य छन्।


