जनकपुर- शनिबारदेखि मधेश प्रदेशमा शुरु हुने ‘श्रमाधान रोजगार मेला’ तयारी पुरा भएको छ। मेलाको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले गर्नेछन्।
मेलामा रोजगारी सहितको स्टल रहने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एंव मेलाका मधेस प्रदेश संयोजक दिपेन्द्र पौडेलले बताए।
‘कामको खोजिमा रहेका युवाहरूको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिइने गरी मेलाको तयारी गरिएको छ। यो मेलाले नयाँ युगको सुरूआत गरेको छ,’ उनले भने।
मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरू लगायत ३५ भन्दा बढी स्टलहरू रहनेछन्। जनरकपुर श्रम तथा रोजगार कार्यालय प्रमुख धर्मराज रोकायका अनुसार सीप र परामर्शसँग सम्बन्धित स्टलहरु पनि रहने छन्।
श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधान लगायत सरकारी स्टलहरू रहनेछन्।
कामको खोजीमा रहेका युवाहरूलाई लक्षित गर्दै सीप तथा रोजगारीमा जोड्न रोजगार परामर्श स्टल राखिने भएको हो। विभिन्न नेटवर्किङ सत्रहरू पनि राखिएको छ। साइडलाइन सत्रहरू, तथा स्थानीय सांस्कृतिक कार्यक्रमहरू पनि राखिएको छ।
सरकारले सातै प्रदेशमा आयोजना गरेको मेला अन्तर्गत मधेस प्रदेशको मेला जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा हुने भएको हो। मेला शनिबार र आइतबार सञ्चालन हुनेछ।
मेलाले रोजगारीका चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारी निकायहरू, निजी क्षेत्रका रोजगारदाताहरू र नागरिक समाजका संस्थाहरूबीच साझेदारीलाई बढावा दिने विश्वास लिइएको छ।
यो मेलाको उदेश्य रोजगारी सिर्जना, उद्योगहरूको प्रवर्द्धन गर्ने र रोजगार बजार विस्तार गरेर नेपालको समग्र आर्थिक विकासमा योगदान पुयाउनु रहेको छ।
