काठमाडाैँ- भारतकाे विश्वकै सबैभन्दा ठूलो र लामो आम चुनाव सम्पन्न भएको छ। शनिबार सातौँ चरणको मतदान सकिएसँगै एक्जिट पोलहरुले नतिजा आकलन सुरु गरेका छन्।
अधिकांश एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्ने अनुमान गरेका छन्।
भारतीय जनता पार्टी (बीजेपी) जोडिएको एनडीए गठबन्धनले ३५० सीट ल्याउने बताएको छ । यो लोकसभाको सामान्य बहुमत २७२ भन्दा धेरै हो । उता विपक्षी दलहरु मिलेर बनाइएको इण्डिया गठबन्धनले १५० सीटमात्रै ल्याउने एनडीटीभीको दाबी छ ।
रिपब्लिक भारत–पीमार्कले एनडीएलाई ३५९ र इन्डिया गठबन्धनलाई १५४ सिट दिएको छ।
जन की बात एक्जिट पोलले एनडीएलाई ३६२–३९२ सिट दिँदा इन्डिया गठबन्धनलाई १४१–१६१ छुट्याएको छ।
पोल अफ एक्जिट पोल्सले एनडीएले ३६५ र इन्डियाले १४२ सिट जित्ने प्रक्षेपण गरेको छ।
५४३ सिटको लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ।
यी दुई गठबन्धनबाहेकका अन्य दलले २० देखि ४० सिटसम्म जित्नसक्ने एक्जिट पोलहरुको अनुमान छ।
अन्य एक्जिट पोलहरुको प्रक्षेपण सार्वजनिक भइसकेको छैन।
एक्जिट पोल सही ठहरिए मोदी तेस्रोपटक सत्तामा फर्किनेछन्। स्वतन्त्रतापछि १७ वर्ष शासन चलाएका जवाहरलाल नेहरुपछि कुनै पनि प्रधानमन्त्रीले तेस्रो पटक चुनाव जितेको इतिहास छैन।
शनिबार नै कंग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले भने आफ्नो गठबन्धनले २९५ सिट जित्ने दाबी गरेका थिए।
भारतको सात चरणको चुनावको अन्तिम मतदान दिन आज थियो भने जुन ४ बाट गणना तथा औपचारिक परिणाम आउन सुरु हुनेछ ।

