काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी १०औँ राष्ट्रिय महाधिवेशनले पार्टीको लक्ष्य, कार्यदिशा, नीति, सिद्धान्त र समाजवादी कार्यक्रम पारित गर्ने बताएका छन्।
महाधिवेशन मूल कमिटीअन्तर्गत अतिथि सत्कार कमिटीको आज बसेको प्रथम बैठकमा उनले विचार, पद्धति, कार्यशैली र संस्कृतिका हिसाबले पनि पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए। ‘नीति, सिद्धान्त र विचारका हिसाबले पार्टीलाई एकताबद्ध गराउनुपर्छ, नेकपा (एमाले)बाट वैचारिक, सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक विद्रोह गरेको पुष्टि हुनुपर्छ’, उनले भने, ‘पार्टीभित्र यस विषयमा समझदारी बढेको छ। सिङ्गो समाजवादी क्रान्तिको कार्यक्रमले अन्य वामपन्थी दललाई पनि नयाँ ढाँचा दिने छ। त्यसैले पार्टीले समाजवादी क्रान्तिको कार्यक्रम दिएर कार्यकर्तालाई स्पष्ट गराउनुपर्छ।’
पूर्वप्रधानमन्त्री खनालले वामपन्थी एकताका लागि कोशी र सुदूरपश्चिम सरकारमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र आफ्नो दल सम्मिलित हुनुपर्नेमा जोड दिए।
उनले पार्टी अधिवेशनमा करिब एक हजार तीन सय प्रतिनिधिको प्रतिनिधित्व रहने र आफूले गृहजिल्ला इलामका तर्फबाट अधिवेशनमा भाग लिनेसमेत जानकारी दिए।
बैठकमा पार्टी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले महाधिवेशनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय अतिथिको सहभागिताबारे जानकारी दिएका थिए। यसैबीच महाधिवेशनमा प्रस्तुत हुने पार्टीका दस्तावेजबारे आइतबार अपराह्न पत्रकार सम्मेलन गरी जानकारी दिने बताइएको छ।


