काठमाडौँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल तत्काल संघ र प्रदेश सरकारमा नजाने भएपछि मधेश प्रदेश सरकार गठन अन्यौलमा परेको छ।
सत्ता गठबन्धनले मधेशमा बनाउने नयाँ सरकारमा लोसपा सहभागी हुने दाबी गरेको थियो, तर लोसपा पदाधिकारी बैठकले सरकारमा तत्काल नजाने निर्णय गरेपछि मधेशमा नयाँ सरकार गठन अन्योल बनेको छ।
अहिले मधेशमा जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन्। जसपा नेपाल विभाजन भएपछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले मधेश सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएका थिए।
लोसपा केन्द्रीय पदाधिकारीको आज बसेको बैठकले सरकारमा जाने सम्बन्धमा पर्ख र हेरको स्थितिमा रहने निर्णय गरेको थियो। सरकारबारे आगामी दिनमा निर्णय लिने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय पनि गरिएको छ।
सरकारबाट समर्थन फिर्ता लिएको २० दिन बित्दा पनि सत्ता गठबन्धनले मधेशमा नयाँ सरकार बनाउन सकेको छैन।
सत्ता गठबन्धनमा रहेको नेकपा एस अहिले पनि जसपा नेपाल नेतृत्वकै मधेश सरकारमा सहभागी छ। नेकपा एसका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुङ्गेली श्रम तथा यातायात मन्त्री छन्।
एमाले मधेशका संसदीय दलका नेता सरोजकुमार यादवले जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन लोसपा र नेकपा एससहितका ६३ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने बताएका थिए, तर लोसपा र नेकपा एसको साथ नपाएपछि प्रदेश प्रमुखलाई बुझाउने भनिएको ध्यानाकर्षणपत्र रोकिएको छ।
अल्पमतमा परेका मुख्यमन्त्री यादवले जेठ २३ मा विश्वासको मत लिने तयारी गरेका छन्।


